गुरू नरेशमान बज्राचार्यको प्रवचन

गुरू नरेशमान बज्राचार्य प्रवचन दिंदै

बोस्टन । पशुपतिनाथ एण्ड बुद्ध फाउन्डेशन अफ न्यू इंग्लैंड (प्याब्फोन) र नेवा अर्गनाइजेसन अफ न्यू इंग्लैंडको संयुक्त आयोजनामा बोस्टनमा बुद्ध धर्म र दर्शनबारे गुरू नरेशमान बज्राचार्यको प्रवचन सम्पन्न भयो । उहाँलाई नेवारी बुद्धीष्ट बज्रयानको गुरु मानिन्छ । बुद्ध धर्म र दर्शन बिषयमा दिल्ली बिश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएका गुरू डा. नरेशमान बज्राचार्य अमेरिकी सरकारले प्रदान गर्ने आवास सहितको फूलब्राइट कार्यक्रम अन्तर्गत हाल म्यासाचुसेट्सको उस्टरस्थित कलेज अफ दि होलिक्रस लिवरल आर्टस कलेजमा आउनुभएका वेला पारेर उक्त प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो ।

सानै छंदा मानिसहरूले गुरू मानेर ढोग्ने र दान दक्षिणा दिने गरेकोले आफूलाई राम्रै गुरू बन्न प्रेरणा मिलेको र बाैद्ध धर्म र दर्शनबारे अध्ययन गरेको गुरू बज्राचार्यको भनाई थियो ।

गुरू बज्राचार्यका अनुसार मानिसहरू भूत र भविष्यबारे मात्रै चिन्ता गर्दछन, वर्तमानबारे कसैले सोच्दैनन् । उनीहरूलाइ भूत र भविष्य मात्र थाहा छ तर वर्तमान बिर्सिरहेका छन् । जो वर्तमानमा बाँचिरहेको छ उसले वर्तमानलाइ चिन्दैन । उसलाइ जीवन के हो थाहा पनि छैन । जन्म लिने धर्तिमा, चिन्ता लिने स्वर्ग र नर्गको । त्यसैले भूत र भविष्यलाई मात्र चिनेर पुग्दैन, वर्तमानलाइ पनि चिन्न सक्नु पर्दछ, र जीवन जीउन सिक्नु पर्दछ । जीवन र जगतलाई चिन्न सक्नु नै बुद्धीमता हो र त्यही नै जीवन हो । यही नै बुद्धको सन्देश पनि हो । बुद्धीज्म एउटा दर्शन मात्र नभएर जीवन जीउन सिकाउने कला पनि भएको गुरू बज्राचार्यले बताउनु भयो ।

प्याब्फोनको अफ्नै भवनमा अयोजित उक्त कार्यक्रममा गुरूले नेपालीहरूले हालै खरिद गरेको भवनको प्रशंसा गर्नु भयो र यसलाई सबैको साझा बनाउनु पर्ने उहाँको सुझाव थियो । गुरूले अफ्नै पहलमा लुम्बिनीमा निर्मित बाैद्ध विहारको तस्विरहरू पनि देखाउनु भएको थियो । प्याब्फोनका उपाध्यक्ष बिजय तामाङको सभापतित्वमा अयोजित उक्त कार्यक्रमको संचालन गाैरव थपलियाले गर्नु भएको थियो र अर्का उपाध्यक्ष एलिना श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो ।

विजय तामाङ